थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ ।

प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै जाने जनाएको हो । यसअघि प्राधिकरणले गत शुक्रबार र शनिबार ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरेको छ ।



पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ वटा उद्योगको विद्युत् बक्यौता रहेकोमा महसुल तिर्न नपर्ने भन्दै ५१ वटा मुद्दा परेको जानकारी दिए । उनले भने, ‘४५ वटा मुद्दाको फैसला प्राधिकरणको पक्षमा आएकाले अब बक्यौता बाँकी रहेका उद्योगको विद्युत् आपूर्ति काट्दै जानेछौं । बाँकी ६ वटा उद्योगको मुद्दामध्ये ३ वटामा अन्तरिम आदेश आएको छ भने ३ वटा मुद्दा अदालतमा विचाराधीन रहेकाले हालका लागि ती उद्योगको विद्युत् आपूर्ति कटौती गर्दैनौं ।’

उनका अनुसार लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि पटक–पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत् अनुरोध गरिएको थियो ।

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत् लाइन बिच्छेद गर्न शुरू गरिएको घिसिङले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार