बालकुमारीमा इपिएस परीक्षार्थीको प्रदर्शन : दुई जनाको मृत्यु, गृहद्वारा छानबिन समिति गठन

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उनले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताए । घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।



कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले शुक्रबार प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
त्यस्तै कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन् ।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृहमन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा छ ।

विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर त्यहाँ जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवं मानवीय क्षतिप्रति गृहमन्त्रालयले दुःख व्यक्त गरेको छ ।रासस

 

सम्बन्धित समाचार