सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

७ देखि १० वर्ष सजाय हुन सक्ने 

बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौँले लामिछानेलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिएको उक्त मुद्दामा शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो । मुद्दाको सुनुवाइका क्रममाढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ (परिवर्तित नाम) नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।



त्यस्तै अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली ‘गौशाला २६’ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ ।

यस मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशाला २६’ को उमेरबारे पनि निकै विवाद भएको थियो । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ । त्यस्तै क्रिकेटर सन्दीपले ‘गौशाला २६’ लाई  नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको अदालतको ठहर छ ।

गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिँदै विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

सम्बन्धित समाचार