अमर आकाशको कविता संग्रह टुङ्गनाको विमोचन

युवा कवि अमर आकाशको प्रथम कविता संग्रह टुङ्गना आज भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्तकालयमा एक अनौपचारिक कार्यक्रमका बीच विमोचन गरियो ।

वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष हुनुभएको उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख सृजना भण्डारीका साथै चर्चित कविहरु हरि अधिकारी, युयुत्सु आर डी शर्मा र साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँको उपस्थिति थियो । कवि श्याम रिमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमकको सुरुआत कवि अमर आकाशले अत्यन्तै चर्चित आफ्ना दुई कविताहरु ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका साथ गरेका थिए ।



यसै क्रममा राजकुमार बानियाँले भने ‘कवि अमर आकाशका कविताहरु एकदम नौलो स्वादको र मौलिक मात्रै नभएर अत्यन्तै जीवन्त विम्बहरुले युक्त तथा काठमाडौंको जनजीवन र सांस्कृतीक चिनारीको धरोहरले भिजेका कविताहरु पढ्दा लाग्छ यी अमर आकाशको रगतबाट आएका कविताहरु हुन् ।’ सोही क्रममा हिमाली कवि युयुत्सु शर्माले अमरलाई रिमालको असली उत्तराधिकारी भन्दै नेपाली वाङ्मयमा एउटा नौलो प्रतिभाको उदय भएको बताए ।

अर्का प्रसिद्ध कवि तथा आलोचक हरि अधिकारीले अमरका कविताहरुबाट आफू सन्तुष्ट भएको र आउने वर्षहरुमा कविबाट शक्तिशाली रचनाहरु आउने प्रवल सम्भावना देखेको कुरा भन्नुभयो । कार्यक्रमा सहभागी अर्का कवि शैलेन्द्र साकारले आफूले शुरु गरेको कथ्य कायाकल्पको सिद्धान्त अनुरुपका कविताहरु रचना गरेका अमरलाई प्रखर र प्रतिभावान युवा कविका रुपमा उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा पुस्तकालयका हर्ताकर्ता जुजुभाइ डंगोलले पुस्तकालयको इतिहास र साहित्यिक गतिविधिबारे पनि प्रकाश पार्नुभएको थियो । प्रकाशक ह्वाइट लोटसका प्रमुख सृजना भण्डारीका अनुसार अमर आकाशको कृति टुङ्गना काठमाडौंका पुस्तक पसलहरुमा उपलब्ध छन् र त्यसका साथै अनलाइन मार्फत मगाएर पढ्न चाहने विश्वभरका पाठकहरुका निम्ति अमेजन, दराज, फ्लीपकार्ट जस्ता अनलाइन प्लेटफर्महरुमा पनि उपलब्ध छ ।

सम्बन्धित समाचार