नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
देशका छुट्टाछुट्टै अथन्म भएको सवारी दुर्घटनमा तीन जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-२२ मटेरीयामा प्र.२-००३ त ६०८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय राजेश रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१६ नरैनापुरमा लु.३ त २४५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार देवदह नगरपालिका-८ घर भई शुद्धोधन गाउँपालिका-५ मनपकडी बस्ने २० वर्षीय रोहित चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-१ चोरखोलास्थित सडकमा लु.१ ख ८६०८ नम्बरको ट्रक र सु.प प्रदेश ०१-००१ ख ३३९२ नम्बरको बस एक-आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार कैलाली धनगढी उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनमा घाइते भएका बसमा सवार १२ जनाको सन्जिवनी अस्पताल चन्द्रौटा र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।