सरकारद्वारा बालकुमारी घटना जाँचबुझ गर्न उच्चस्तरीय आयोग गठन

सरकारले ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक उक्त घटनाको विषयमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेजो हो ।

सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।



आयोगमा पूर्वन्यायाधीश पौडेलसहित पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगलाई उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन तथा विश्लेषण गर्ने, उक्त घटनाको कारण र त्यस स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी कमीकमजोरी पहिचान गर्ने कार्यादेश दिइएको छ । आयोगले बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति तथा पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गर्ने, दोषी देखिएकालाई कारबाहीको सिफारिस गर्ने र आगामी दिनमा यस प्रकारका घटना हुन नदिन आवश्यक सुझाव पेस गर्ने मन्त्री शर्माले बताइन् ।

आयोगलाई एक महिनाको समयावधि तोकिएको छ । आयोगले सुझावसहितको यथार्थता प्रस्तुत गर्ने र उक्त सुझावलाई सरकारले कार्यान्वयन गर्ने मन्त्री शर्माले जानकारी दिइन् । उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो भने आक्रोशित समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी थियो ।

सम्बन्धित समाचार