सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक जनाको मृत्यु, निषेधाज्ञा जारी 

सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागेर बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ ।

प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनमा सहभागी दुईजना र सुरक्षाकर्मी तर्फ ८ जना प्रहरी घाइते भएका छन् ।



जिल्लामा शान्तिसुव्यवस्थाको स्थिति बिग्रदै गएपछि स्थानीय प्रशासनले बरहथवामा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार अपराह्न ५ः३० बजेदेखि लागु गरिएको निषेधाज्ञा भोलि (शनिबार) बिहान ८ः०० बजेसम्म जारी हुने जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर जनाएको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो ।

बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो ।

सम्बन्धित समाचार