सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बर्दिया, राजापुर नगरपालिका-१० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १३३७ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री मधुबन नगरपालिका-३ बस्ने ५४ वर्षीय नोखे दमाइको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङ, बबई गाउँपालिका-७ चरकमटियास्थित सडकमा पन्चकुलेबाट चरकमटियातर्फ जाँदै गरेको रा.७ प ९८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया रामकुमारी रावतको शुक्रबार साँझ मृत्यु भएको छ ।



ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रूपन्देही, सैनामैना नगरपालिका-३ झारबैरास्थित सडकमा लु.१ च ६४९७ नम्बरको भ्यानले लु.१७ प २५६६ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका-१ सिसै बस्ने २० वर्षीय सुनिल मल्लाहाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता महोत्तरी, बर्दिबास नगरपालिका-१४ बर्दिबास चोकमा ज.१ क ४७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० खयरमारा बस्ने ७० वर्षीय राम बहादुर राउतको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ-स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार