सन्दीप लामिछानेद्वारा राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको घोषणा

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको घोषणा गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा ८ वर्षको कैद सजाय र ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला सुनाएपछि लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको घोषणा गरेका हुन् ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरी पत्र लेखेका लामिछानेले आफू न्याय नपाएसम्म राष्ट्रिय क्रिकेट टिमबाट अलग भएको जानकारी गराएका हुन् ।



त्यस्तै उनले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बताएका छन् । आफू आर्थिक रुपम समेत कमजोर अवस्थामा रहेको भन्दै लामिछानेले क्यानबाट रोकिएको भुक्तानी फुकुवा गर्दिन पनि आग्रह गरेका छन् ।

गत १३ पुसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर राज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै बुधबारका लागि सजायको पेसी तोकेका थिए । न्यायाधीश ढकालको इजलासले बुधबार सन्दीपलाई  ८ वर्षको जेल सजायसहित ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो ।

यता अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।

 

सम्बन्धित समाचार