नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । चितवन, खैरहनी नगरपालिका-२ चैनपुर चोकमा बा.प्र.०३-००१ च १७२७ नम्बरको बलेरो गाडीले प्रदेश ०३-०२-००६ प ९०६८ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटर चालक राप्ती नगरपालिका-८ ब्रमानगर बस्ने ३० वर्षीय करण श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ स्थित सडकमा बिएबि २८७५ नम्बरको कारले बा.प्र.०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक माडी नगरपालिका-६ रामराज्यपुर बस्ने ३५ वर्षीय कुल प्रसाद सापकोटाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थित सडकमा सुर्खेतदेखि नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख ३६३० नम्बरको मिनिबस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार बर्दिया बारबर्दिया नगरपालिका-११ बस्ने २३ वर्षीय रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बसका चालक समेत १६ जनामध्ये ४ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको भइरहेको छ भने १२ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा प्रदेश ३-०२०१२ प ११४० नम्बरको स्कुटरले भे.१३ प १३८१ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कैलाली मन्याल गाउँपालिका-५ बस्ने ४३ वर्षीय हरी बुढाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता मकवानपुर, गढी गाउँपालिका-१ बादरखोल्सीमा लेनडाँडाबाट बादरखोल्सीतर्फ जाँदै गरेको बा.प्र-०३-००१ ख १४८९ नम्बरको टिपर आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा टिपर चालक हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे बस्ने २२ वर्षीय सुकदेव पाख्रिनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता मोरङ, सुनवर्षी नगरपालिका-६ केरेन्जास्थित सडकमा प्र.नं.०१-०१-००२ त ०३८८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने संजय ऋषिदेवको छोरा ११ वर्षीय समिर ऋषिदेवको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।