नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।
बागलुङ, काठमाडौँ, झापालगायत छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
बागलुङ, ढोरपाटन नगरपालिका-५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध.१ ज १९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्ती मगर र जिपमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुङगल बस्ने २८ वर्षीया संगिता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको छ । त्यस्तै काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै झापा, झापा गाउँपालिका-५ स्थित सडकमा बा.४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता दोलखा, जिरी नगरपालिका-४ सिउरेनीमा लु.३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।