नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएकोप छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ पानीघाट भन्दा माथि हिमचुली सेतो पहरा भन्ने स्थानमा प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा काठमाडौं महानगरपालिका-३० मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी लगायत ४ जनाको घटनास्थलमै र गम्भीर घाइते भएका काठमाडौं लाजिम्पाट बस्ने ६ वर्षीया स्मारिका गौतमको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडीमा सवार ६ जनामध्ये डा.सृष्टि तिवारी गौतम सकुशल छन् ।
त्यस्तै झापा, कमल गाउँपालिका-४ चुलाचुली मोडस्थित सडकमा मे।६ प ३१५२ नम्बरको मोटरसाइकल, प्र.१-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकल र प्र.१-०१-०१६ प ७१४० नम्बरको स्कुटर ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा प्र.१-०१-०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा सवार कन्काई नगरपालिका-३ बस्ने ७० वर्षीय रघुनाथ भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लाईफलाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे.६ प ३१५२ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ । प्र.१-०१- ०१६ प ८९९२ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्कुटर चालक उपचारको लागि अस्पताल गएको बुझिएको छ ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ६६०३ नम्बरको कार र मे.१० प ७२१२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दमक नगरपालिका-९ बस्ने २३ वर्षीय अनुप ढकालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालक सहित कारमा सवार ३ जना र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै पर्सा, धोबनी गाउँपालिका-२ भिखमपुरस्थित सडकमा बीआर २२ एएम १२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक भारत पश्चिम चमपारण बिहार बस्ने ३५ वर्षीय इमाम हुसेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता रौतहट, गौर नगरपालिका-२ महादेवपट्टीस्थित सडकमा बीआर ०५ एम ४१४५ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने ७९ वर्षीया रामदुलारी देवीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बर्दिया, मधुवन नगरपालिका-४ बसन्तास्थित सडकमा भे.१ ज १३४६ नम्बरको म्याजिक गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ४० वर्षीय राम बहादुर थारूको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।