नवराज घिमिरे
काठमाडौं, ४ माघ ।
भनिन्छ– समय नै बलवान हुन्छ । कुनै समय नेपाली काङ्ग्रेसमा बलियो पकड बनाएका कोइरालाहरूलाई साइड लगाउन सम्भव थिएन तर गिरिजाप्रसाद कोइरालाले ०४८ सालमा आफ्नै प्रधानमन्त्रीत्व कालमा गृहमन्त्री बनाएर ठाउँ दिएका शेरबहादुर देउवाले कोइराला परिवारलाई पाखा लगाउन सफल भए । आफ्नो स्वार्थका लागि पार्टीलाई विभाजित गरेर भए पनि कोइराला पक्षधरलाई नै पाखा लगाए र फेरि उनी नै पार्टीको संस्थापन बन्ने हैसियत कायम गरे । नेपाली राजनीतिमा विरलै नेताहरूले मात्र बनाउन सकेको कीर्तिमान शेरबहादुर देउवाले बनाए ।
देउवाको यो सफलता उनीभित्रको तागत, ल्याकत र रणनीतिले मात्रै सम्भव भएको चाहिँ पक्कै होइन । भित्री रूपमा कोइराला पक्षधरकै बलिया र नाम चलेका नेताहरूको सपोर्टले पनि भूमिका खेलेको छ । कोइराला पक्षकै नेतालाई आफनो खेमामा तान्दै देउवाले निरन्तर दुईपटक नेतृत्वमा हालीमुहाली गर्न भ्याएका छन् । धेरै नबोली भित्रभित्रै कुटील जाल चल्न माहिर देउवाले नबोलेरै राजनीतिक माहौललाई निरन्तर आफ्ना पक्षमा पार्न सफल छन् । त्यसैले आफ्नो सम्पूर्ण ऊर्जा लगाएर भए पनि पार्टीको शीर्ष स्थानमा रहिरहन त सफल भएका छन् तर देश र जनताको अवस्था परिवर्तन गर्ने सवालमा भने उनले उल्लेखनीय केही गर्न सकेनन् ।
विगतमा देउवाले कोइराला विरासतसँग आन्तरिक सङ्घर्ष गरिरहँदा कृष्णप्रसाद र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलहरू उनका बलिया आधार खब्बाका रूपमा स्थापित थिए । सिटौला दुबै खेमालाई ब्यालेन्स गर्न सक्ने र शान्ति, प्रक्रिया र संविधान लेखनमा गिरिजा, सशील र देउवासँग उस्तै विश्वासिलो पात्र बनेका थिए । देउवाले पहिलो कार्यकालमा सिटौला र दोस्रो कार्यकालमा पौडेललाई आफ्नो पक्षमा पार्न सफल भए । उनी ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि विभिन्न समयमा थप ४ पटक देउवा मुलुकको प्रधानमन्त्री हुन सफल भए । उनी अझै पनि प्रधानमन्त्री बन्ने रहर पालेर बसेका हुन सक्छन् ।
१३ र १४ औं महाधिवेशनमा सिटौला र पौडेलको भूमिकाकै कारण देउवाले सोचेभन्दा राम्रो नतिजा हात पार्न सफल भए । राजनीतिक शक्ति आर्जनको लागि जस्तोसुकै खेल पनि खेल्न देउवा माहिर देखिन्छन् । समय र आवश्यकताका आधारमा आन्तरिक गुटहरूसँग खेल्न र कहिले टाढा र कहिले नजिकको सम्बन्ध राखेर सधैं आफूलाई निर्विकल्प बनाउन सफल देउवा पौडेलं र सिटौला गुटलाई भने आफ्नो राजनीतिक विरासतका दुई बलिया खम्बाका रूपमा संरक्षण गरेर राख्न सफल छन् ।
यी दुई खम्बामा खिया लाग्न नदिन बेला बेला उनीहरूलाई विभिन्न उपहार दिएर अनुगृहीत बनाइराख्छन् । यसै मेसोमा देउवाले पौडेललाई राष्ट्रपतिको र सिटौलालाई पनि राष्ट्रिय सभा सदस्यको उपहार टक्र्याएर भोलिका लागि पनि आफ्नो यात्रालाई सुनिश्चित बनाएका छन् ।
गणेश भगवानले सुमेरू पर्वत घुम्नुको साटो शिव र पार्वतीको वरिपरि घुमेर मेरा लागि आमाबाबुको परिक्रमा भन्दा ठूलो अर्को कुनै परिक्रमा छैन भनेर उनले शिवपार्वतीको मन जित्न सफल भएको नीतिकथाबाट अनुप्राणित देउवा पनि सुमेरू घुम्ने पार्टीका अरू साथीहरूलाई भन्दा आफ्नो र आरजुका वरिपरि धुम्ने गणेशलाई बढी रूचाउँछन् र उनीहरूलाई आर्शीवाद स्वरूप अवसर र सुविधाहरू प्रदान गर्दछन् । उनी आफ्ना भक्तको योग्यताको परीक्षण कहिल्यै गर्दैनन् । उनलाई अन्धभक्ति भए पुग्छ । त्यसैले उनलाई कहिलेकाहीं हीरा फलेर कीरा टिप्न रुचाउने नेता पनि भन्ने गरिन्छ, तर यस्ता भनाइले पनि उनलाई तात्विक फरक पार्दैन । उनको एकल निर्णयका विरूद्धमा कहिलेकाहीं सामान्य आवाजहरू पनि उठ्ने गर्दछन् तर यस्ता आवाजहरू पनि प्रायोजितजस्तै विस्तारै सेलाउँदै जान्छन् । सुनियोजित जस्तै ।
चिन्ता बुढी मरीभन्दा पनि काल पल्कियो भन्ने हो । चिन्ता देउवा कतिपल्ट प्रधानमन्त्री बने भनेर भन्दा पनि उनले आफ्नो प्रधानन्त्रीत्व कालमा देश र जनतालाई उल्लेखनीय के दिए भन्ने हो । चिन्ता देउवाले को–कसलाई काखी च्यापे भन्दा पनि उनले कस्ता व्यक्तिलाई काखी च्यापे र त्यसले पार्टी–जीवनमा र लोकतान्त्रिक पद्दतिमा कस्तो प्रभाव पार्ला भन्ने हो । यदि नेतृत्वले पार्टीजीवनको, मुलुकको र आम जनताका भविष्यको चिन्ता नगरी आफ्नो स्वार्थ अनुकूल स्वनिर्णय गर्दै जाने हो भने एउटा निरङ्कुश तानाशाह र लोकतान्त्रिक शासन–व्यवस्थाका नेताबीच के अन्तर भयो र ?
चिन्ता इतिहासले शेरबहादुर देउवालाई प्रजातन्त्रलाई सुनको किस्तीमा राखेर राजाको पाउमा राख्ने व्यक्तिका रूपमा वा राजाले पनि अक्षमभन्दै सत्ताच्युत गरेका व्यक्तिका रूपमा मात्र मूल्याङ्कन नगरोस् भन्ने मात्र हो । देउवाले सच्चा प्रजातन्त्रवादी नेताका रूपमा आफूलाई स्थापित गराउने पटक पटक मौका पाएका हुन् तर उनको दम्भले हो वा अज्ञानताले हो, उनले ती मौकाको सदुपयोग गर्न सकेनन् । एउटा तस्करले पनि अकुत पैसा कमाउन र आलिशान जीवन त बिताउन सक्ला तर लोकतन्त्रका लागि लडेका नेताले आफ्नो पृथक परिचय बनाउन सक्नु पथ्र्यो । आफू अमर हुने कीर्तिमान खडा गर्न सक्नु पथ्र्यो । तर, देउवामा त्यो सद्बुद्धि देखिएन । पैसाले किताब किन्न सकिन्छ तर ज्ञान र विवेक किन्न सकिन्न भनेको यही हो कि !?