वेस्ट इन्डिज ‘ए’लाई टी-२० सिरिज, नेपाल २८ रनले पराजित  

नेपालसँगको टी–२०  सिरिज वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

पाँच खेलको शृङ्खलाअन्तर्गत बिहीबार भएको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २८ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ९ रनको योगफल बनायो । दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सवै विकेट गुमाएर एक सय ८१ रन मात्र बनायो ।



वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बल खेल्ने क्रममा नौ चौका र चार छक्का प्रहार गरे । यस्तै जोनसन चाल्र्सले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५८ रन बनाए । फाबियन एलनले अविजित ३३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए । नेपालका लागि एक सय ८१ रन बनाउने क्रममा कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्का हिर्काए । वेस्ट इन्डिज ‘ए’सँगको पहिलो खेलमा उनले एक सय १२ तथा दोस्रो खेलमा अविजित ७१ रन बनाएका थिए ।

त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऎरी र गुलसन झाले समान १९-१९ रन बनाए भने अविनाश बोहरा १७ रनमा अविजित रहँदा सोमपाल कामीले १० रन जोडे । बलिङतर्फ वेस्ट इन्डिज ‘ए’का हेडन वाल्स र म्याथ्यु फर्डले तीन तीन तथा फेबियन एलेन र गुडाकेश मोटीले दुई दुई विकेट लिए । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।

यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो ।

यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन गर्यो  । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरे । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम तथा पाँचौं  खेल शनिबार हुनेछ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।

सम्बन्धित समाचार