नेपाल सरकारका निकायहरूले गर्नु पर्ने काम हामी गरिरहेका छौं : आचार्य

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपालको लोक संस्कृतिको जोगार्न गर्दै नेपालको मौलिक संस्कृतिलाई मुलुकबाहिर पनि चिनाउने पुनीत उद्देश्य राखी खोलिएको एउटा सामाजिक संस्था हो । आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय सस्थाहरूसँग आबद्धता भई एभरेष्ट नेपाल कल्चरल ग्रुपले लोक साँस्कृतिक आदान प्रदान गर्ने कार्यक्रममा सक्रिय र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले विभिन्न देशहरूबाट अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिरहेको छ, यसै मेसोमा संस्थाका निर्देशक तथा १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२४ का महासचिव सीतल आचार्य ‘सीता’सँग नवकान्तिपुर डटकमसँग समसामयिक विषयमा गरेको कुराकानीको समपादित अंशलाई प्रस्तुत गरिएको छ ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप कुन उद्देश्यले स्थापना गरिएको संस्था हो ? यो संस्था आफ्नो उद्देश्य प्राप्तिका लागि कति सफल भइरहेको छ ?
एभरेष्ट नेपल कल्चरल ग्रुप नेपाली लोक कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनका साथै नेपाली लोक संस्कृतिलाई विश्वमा परिचित गराउने उद्देश्यले लोक संस्कृतिप्रति समर्पित केही व्यक्तिहरूको समूह मिलेर खोलिएको संस्था हो । लोक संस्कृति र लोक नृत्यको प्रबद्र्धन गर्नु नै यसको मुख्य लक्ष्य हो । सन् १९९८ मा संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाको नेतृत्वमा स्थापना भएको यस संस्थाले आफ्नो स्रोत, साधन र सामथ्र्यले भ्याएसम्मका कार्यहरू गरिरहेकोे छ ।



नेपालको लोक संस्कृतिको प्रबद्र्धनमा हालसम्म यस संस्थाले के कति कार्य गर्न सफल भयो र विश्वका कति मुलुकहरूमा नेपाली टोलीले आफ्नो सहभागिता जनाइसकेको छ ?
एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली लोक कला संस्कृतिको प्रबद्र्धनमा उल्लेखनीय काम गर्दै आइरहेको छ भन्दा पनि अन्यथा हुँदैन । किनभने हालसम्म यस संस्थाको नेतृत्वमा विश्वका ८० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका साँस्कृतिक मेलामा आफ्नो सहभागिता जनाइसकेको छ । नेपाली टोली जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ आफ्नो अविस्मरणीय छाप छोड्न पनि सफल भएको छ ।

संसारभरिका लोक संस्कृति प्रेमीहरू नेपाली लोक नृत्यको आनन्दमा झुमेका छन् । नेपाली टिमले सबैतिर प्रशंसा कमाएको छ ।

यस ग्रुपको अबको कार्यदिशा के हो ?
एभरेष्ट नेपाल कल्चरल ग्रुपले सन् २००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको लोक सांस्कृतिक मेलाको आयोजना गर्दै आएको छ र अबको लक्ष्य भनेको १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेल २०२४ लाई भव्यताका साथ आयोजना गर्नु नै हो ।

विचलित नभई यस्ता कार्यलई निरन्तरता दिन सक्नुलाई पनि सफलताको आधार मान्न सकिन्छ होला नि ?
हजुर, एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली कला संस्कृतिलाई विश्व सामु परिचित गराइ एउटा अलग्गै किसिमको छाप छोड्न सफल भएको छ । यसमा लाग्ने हामी सबैका लागि यो खुसीको कुरा हो । अबको कार्यदिशा भनेको सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको पहिचानलाई अझ फराकिलो पार्दै नेपालमा साँस्कृतिक पर्यटकहरू भित्र्र्याउन जोड दिनु हो । हामीले यसको प्रचुर सम्भावना देखेका छौं ।

अन्तर्राष्ट्रिय स्तरका यस्ता महत्वपूर्ण मेलाहरूको आयोजना गर्दा वा सहभागी हुन विदेश जाँदा एभरेष्ट नेपाल कल्चरल ग्रुपलाई नेपाल सरकारबाट कुनै सहयोग हुन्छ वा हुँदैन ?
नेपाल सरकारको सम्बन्धित निकायमा विराजमान हुनुहुने प्रभुहरूलाई यस्तो मेला ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै होला । वास्तवमा यस्तो मेला नेपाल सरकारले आफ्नै पहलमा गर्नुपर्ने हो तर यस्तो मेल आयोजना गर्नुभन्दा बीबीसी र सिएनएनमा विज्ञापन बजाएर जिम्मेवारी पूरा भएको देखाउन नै अभ्यस्त देखिन्छन् । यस्ता साँकृतिक आदान प्रदान गर्ने कार्यक्रमले नेपाललाई र नेपालको प्राकृतिक सौन्दर्यलाई संसारभरि प्रचार गरेर बढीभन्दा बढी पर्यटकहरू नेपाल भित्र्र्याउन मद्दत पुग्ने थियो तर नेपाल सरकारका सम्बन्धित निकायमा बस्ने प्रभुहरूलाई यसबारे जानकारी नै छैन । त्यसैले प्रभुहरूको निगाहबाट सहयोग पाउने सम्भावना नै रहेन ।

सरकारको सहयोग विना यति ठूलो साँस्कृतिक मेलाको आयोजना गर्न कसरी सम्भव हुन्छ ? ठूलै खर्च हुँदो हो । होइन ?
हो, यति ठूलो मेलामा सम्बन्धित निकायले सहयोग नगर्दा दुःख लाग्छ, तर पनि मेला आयोजना गरिरहेकै छौं । स्थानीय आयोजक र केही प्रायोजकको सहयोगबाट नै अहिलेसम्म मेला आयोजना गर्न सफल भएका हौं ।

२०२४ मा नेपालमा हुने अन्तर्राष्ट्रिय साँस्कृतिक मेलामा कुन–कुन देशका कति कलाकारहरू र डेलिगेट्सहरू आउने अनुमान गर्नुभएको छ ? कार्यक्रमको फर्मेट कस्तो छ ?
१२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०२४ मा स्ट्रिय, बेल्जियम, बोट्स्वाना, इस्टोनिय, जर्मनी, नेपाल, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिकालगायत १५ भन्दा बढी देशबाट ३५० कलाकारहरू आउने निश्चित भैसकेको मेला काठमाडौं, ललितपुर, दाङ, पोखरालगायतका ठाउँहरूमा आयोजना हुँदैछ।

यसपटक नेपाल पर्यटन बोर्डसँग पनि समन्वय र सहकार्य गर्ने योजना छ कि ?
नेपाल पर्यटन बोर्डसँग मात्र हैन, सम्बन्धित मन्त्रालयदेखि स्थानीय निकायसम्म सहकार्यका लागि हामी तयारीमा छौं र प्रस्ताव लिएर गएका छौं पनि । पहिले नपाएको सहयोग यसपटक पाउने प्रबल सम्भावना पनि देखेका छौं ।

अन्त्यमा केही भन्नु छ कि ?
लोक संस्कृति देशको पहिचान र परिचय दुबै भएकोले लोक संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा सबै एकजुट भएर लाग्न अनुरोध गर्न चाहन्छु । पहल हाम्रो संस्थाले गरे पनि देशको ख्याति बढ्ने कुरामा सरकारले पनि साथ र सहयोग गरे परिणाम् अझ राम्रो आउने थियो । मुलुकले नै यस्ता कुरामा पहल कदमी गरे सबैको साथ, सहयोग र समर्थन हुने कुरामा हामी विश्वस्त छौं ।

सम्बन्धित समाचार