नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ माघ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट क्षतिमा ३०२ रनको बलियो योगफल बनाएको थियो । न्युजिल्यान्डका स्नेहित रेड्डीले १४७ रनको शतकीय पारी खेले भने कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५ रनको अर्धशतकीय इनिङ्ग्स खेले । त्यस्तै टोम जोन्सले ३३ रन बनाई आउट भए भने लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन जोडे ।
नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए भने गुल्सन झाले २ विकेट लिँदा दीपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीको भागमा समान १-१ विकेट रह्यो । ३०३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित ५० ओभरमा ९ विक्व्त गुमाउँदै २३८ रन मात्र बनायो ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान देव खनालले ३६ रन जोड्दा सुभाष भण्डारीले ३३ र तिलक भण्डारी १७ रनको योगदान दिए ।न्युजिल्यान्डका लागि मेसन क्लार्कले ३ विकेट लिए भने एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले समान २-२ विकेट लिँदा म्याट रो र ज्याक कमिङ्गको भागमा समान १-१ विकेट रह्यो । नेपालले अब दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग खेल्नेछ ।