नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।
आज सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएकोे छ । मतदान सकिएलगत्तै मत गणना आरम्भ गरिने र नतिजा पनि आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ
राष्ट्रियसभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवारहरू सहभागी छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवारहरू रहेका छन् ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।