सीतल आचार्य
काठमाडौं, १२ माघ ।
अन्ततः इटालीटार–पासीकोट जोड्ने बाटो बन्ने भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा न. ६ भित्र विकास निर्माणका जति नै काम भएता पनि इटालीटार पासीकोट जोड्ने लगभग ३०० मिटरको मूलबाटो वडा न ६ का जनप्रतिनिधिहरूको लागि घाँटीमा बाँधेको पासो जस्तो भएको थियो । विगत पाँच वर्षदेखि पैदल हिँड्न पनि गाह्रो हुने गरी अलपत्र अवस्थामा रहेको सो बाटोको स्तरोन्नतिसहित २० फिटको पिच र ढल निकाससहितको बाटो बन्ने भएपछि स्थानीयवासी दङ्ग छन् ।
बुनपा ६ लाई बाटोघाटो खानेपानीलगायत कुनै विकासका पनि सुविधाबाट बञ्चित हुन नदिने सङ्कल्प बोकेका वडाध्यक्ष रवि खड़काको अगुवाइमा मेयर, उपमेयर, नगर प्रहरी बलका साथै नेपाल प्रहरीको उपस्थितिमा नगरपालिकाले बल प्रयोग गरी अवरोध सिर्जना गर्ने कम्पाउण्ड–वाल भत्काइएपछि बाटो निर्माणको काम सम्पन्न हुने सुनिश्चित भएको हो ।
यस बाटोका लागि प्रदेशस्तरीय बजेट २०७७ सालमा नै परेको भएता पनि स्थानीय २/४ वटा घरको कम्पाउण्ड–वालको अवरोधका कारण बाटो निर्माणको काम रोकिएको थियो । पटक पटक स्थानीय उपभोक्ता समिति, वडा तथा नगरपालिकाले समन्वय गर्न खोज्दा पनि कम्पाउण्ड–वाला घर मालिकहरूको अवरोधका कारण योजना टुङ्गोमा पुग्न सकेको थिएन ।
उक्त बाटो मात्र होइन, २०८३ सालसम्ममा वडा न ६ मा विकासको लागि आएको बजेट खर्च गर्ने ठॉउ बॉकी नराख्ने गरी काम भइरहेको पनि वडाध्यक्ष रवि खडकाले बताए ।