दरबार हत्याकाण्डबारे होला फेरि छानबिन ?

पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ सालको दरबार हत्याकाण्डपछि भ्रम फैलाएर आफ्नो परिवारप्रति घातक हमला भएको बताएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्  ।

पूर्वराजा ज्ञानेन्द्रले शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै २०५८ सालमा घटेको विनाशकारी घटनाका बारेमा जनतामा भ्रम फैलाएर आफू र आफ्नो परिवारमाथि घातक हमला भएको बताएका थिए ।



२३ वर्षअघि घटेको दरबार हत्याकाण्ड अझै पनि संशयको घेरामा छ। सो दरबार हत्याकाण्ड तत्कालीन राजा वीरेन्द्रको वंश नै सखाप पार्ने गरी घटेको थियो । पूर्वराजा ज्ञानेन्द्रले सो हत्याकाण्डबारे भ्रम फैलाएर आफूहरूमाथि घातक प्रहार गरिएको अभिव्यक्ति दिएपछि त्यसले तंरग ल्याएको छ ।

यसै तरंगका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बाराको सिमरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालको दरबार हत्याकाण्डको पुनः छानबिन गरिने बताएका हुन् । २०५८ सालमा तत्कालीन सरकारद्वारा गठित छानबिन आयोगले सत्ताको निर्देशनअनुसार काम गरेकाले दरबार हत्याकाण्डबारे सत्यतथ्य बाहिर आउन नसकेको आरोप लागेको थियो ।

त्यसको केही वर्षपछि शासकीय व्यवस्था नै परिवर्तन भएर राजसंस्था नै उन्मूलन हुन पुगेको थियो । शासकीय व्यवस्था परिवर्तनपछि बनेका लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीहरूले दरबार हत्याकाण्डको पुनः छानबिन हुने बताउँदै आए पनि छानबिन भने हुन सकेको छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले यसअघि पनि दुईपटकसम्म प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्ड छानबिन हुने बताएका थिए तर उनले त्यस बेला छानबिन गर्न सकेका थिएनन् । सोमबार सिमरामा भने प्रधानमन्त्रीले दरबार हत्याकाण्ड छानबिन गर्ने विषय तेस्रोपटक फेरि दोहोर्‍याएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

पूर्वराजा ज्ञानेन्द्रले पनि शनिबार आयोजित कार्यक्रममा भनेका थिए – ‘२०५८ सालमा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो।  हामी र हाम्रो परिवारलाई घातक प्रहार पनि गरेका थिए।’ उनले दाबी गरेका छन्– ‘सत्य सधैं सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार