बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

बागमती प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका– ५, कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका– १७, वनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।



नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए । २०३६ मा उनी विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बीपी कोइरालाको सन्देश लिएर नेपाल आएका थिए । नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुईपटक क्षेत्रीय सभापति भएर काम गरेका थिए । उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।

सम्बन्धित समाचार