सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सल्यान, बागचौर नगरपालिका-८ कोटमौलामा रा.१ त ३८५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक कुमाख गाउँपालिका-६ वडागाउँ बस्ने १९ वर्षीय जनक बिकको घट्नास्थलमै मृत्यु भएको छ ।

त्यस्तै कञ्चनपुर, बेदकोट नगरपालिका-१० शिशैया हरपाल बस्ने ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बा.प्र.प.०१०२९ च २८०६ अस्थाई नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट उनकै श्रीमती ४० वर्षीया मञ्जु रावल कठायतको बिहीबार दिउँसो मृत्यु भएको छ ।



ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मोरङ, ग्रामथान गाउँपालिका-२ स्थित सडकमा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे.१ त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कपिलवस्तु, महाराजगंज नगरपालिका-२ बर्गदास्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने नाईम तेली मुसलमानकी छोरी ७ वर्षीया तैहब्बा मुसलमानको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । यता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ माईली साईली चोकमा ना.१ च ३६६७ नम्बरको साईन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शोभा थापा मगरको छोरा ५ वर्षीय स्वस्थी बाचेको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार