यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपाल भारतसँग १३२ रनले पराजित

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा भारतले नेपाललाई १३२ रन्को फराकिलो अन्तरले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतका लागि सचिन दास र कप्तान उदय सहरानले शतकीय परी खेल्दै क्रमश: ११६ र १०० रन बनाए ।



त्यस्तै आदर्श सिहले २१ रन जोड्दा प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्नीले १८ रन बनाए । नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दको भागमा एक विकेट रह्यो । २९८ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खनालले ३३ रन बनाए भने दुर्गेश गुप्ता २९ र आकाश चन्द १८ रनमा अविजित रहे । यस्तै अर्जुन कुमालले २६ र दीपक बोहोराले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतको लागि सौम्य पाण्डेले ४ विकेट लिए भने र असरिन कुलकर्णीले २ विकेट लिँदा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकको भागमा समान १-१ विकेट रह्यो । एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । त्यसपछि अर्जुन आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदै २७।५ ओभरमा ७७–७ को अवस्थामा पुगेको थियो ।

नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । नेपाल पहिलो सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसंग पाँच विकेटले पराजित भएको थियो । नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको थियो ।

 

 

सम्बन्धित समाचार