नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
देशका छुट्टाछट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङ, ग्रामथान गाउँपालिका-५ स्थित सडकमा प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया हशनी देवी चौधरीको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै महोत्तरी, बलवा नगरपालिका-७ बनौटास्थित सडकमा प्र.२-०२-००१ प ९३३५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने लालबावु साहकी छोरी ५ वर्षीया रीतिका कुमारी साहको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता सर्लाही, मलंगवा नगरपालिका-११ गमहरियास्थित सडकमा बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी ज.२ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा सफारीमा सवार बागमती नगरपालिका-५ बस्ने ४५ वर्षीय बिनोद घिमिरेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सफारीमा सवार १० जनामध्ये ५ जनाको एलएस न्यूरो अस्पताल बारामा, १ जनाको तिरुपति अस्पताल मलंगवामा, ३ जनाको एनएमसी अस्पताल वीरगंज र १ जनाको बयोधा अस्पताल वीरगंजमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।