क्यानडाविरुद्ध नेपालको सात रनको रोमाञ्चक जित, तीन खेलको सिरिजमा नेपाललाई १-० को अग्रता 

काठमाडौँमा जारी क्यानडाविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा  क्यानडाविरुद्धको  सात रनको रोमाञ्चक जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेखले ३८ रन बनाए । त्यस्तै सोमपाल कामीले २७ रन जोड्दा कुशल मल्लले २०, भीम सार्कीले १७, पवन शर्राफले १५ र सूर्य तामाङले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।



क्यानडाका लागि उदय भागवानले ३ विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान २-२ विकेट लिँदा हर्श थाकर र शाहिद अहमदजाइको भागमा समान १-१ विकेट रह्यो । नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २१७ रनमात्र बनाउन सक्यो ।

क्यानडाका लागि निकोलस कीर्तनले ६८ र पर्गत सिंहले ५० रन्को अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हर्श थाकरले ३२ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन । पहिलो विकेट १९ रनमा गुमाएको क्यानडाले दोस्रो विकेट ३५ को अवस्थामा गुमायो । त्यसपछि निकोलस कीर्तन र पर्गत सिंहले पारी सम्हाल्दै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि निकोलस कीर्तन र हर्श थाकरले ६० रनको साझेदारी गर्दा क्यानडा एक सय ७४ रनको बलियो अवस्थामा पुग्यो । यो अवस्थामा क्यानडालाई जितका लागि १७ ओभरमा ५१ रनको आवश्यक थियो । खेल पूर्णरुपमा क्यानडाको पक्षमा ढल्किसकेको थियो ।

त्यसपछि क्यानडाको पारी बिग्रियो । उसले थप ४३ रन बनाउँदा बाँकी छ विकेट गुमाउन पुग्यो । क्यानडाको पौँचौ विकेट १८९ रनमा गुम्यो भने छैँटौ विकेट १९५ रनमा, सातौ र आठौँ विकेट २०७ रनमा, आठौँ र नवौँ विकेट २१२ रनमा र अन्तिम विकेट २१७ रनमा गुमायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल ४ विकेट लिए भने ललित राजबंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लको  भागमा समान १-१ विकेट रह्यो । जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खला सुरु हुनुअघि नेपाललले क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको हो । नेपाल र क्यानडाबीचको दोस्रो खेल यही माघ २७ हुनेछ ।

सम्बन्धित समाचार