क्यानडाविरूद्धको सिरिज नेपाललाई, दोस्रो खेलमा क्यानडा ४ विकेटले पराजित 

रोहित, देव र अनिलको अर्धशतकीय पारी   

क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज घरेलु टोली नेपालले जितेको छ । शनिबार भएको खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-० ले जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले ६५ रनको अर्धशतकीय पारी खेले भने नवनित धलिवालले ४६ रन बनाए । त्यस्तै श्रेयश मोभ्वाले ४० रन बनाई आउट भए भने पर्गत सिंहले ३८, निकोलस कीर्तन र उदय भगवान्ले समान २०-२०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन जोडे ।



नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले समान २-२ विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो । २८६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका कप्तान रोहितकुमार पौडेल, देव खनाल र अनिलकुमार शाहले अर्धशतकीय परी खेल्दै क्रमश : ८७, ७६ र ५० रन बनाए । पौडेलले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे भने देव खनालले ८१ बलमा दुई छक्का र सात चौका हाने र अनिलकुमार साहले २० बलमा तीन छक्का र सात चौका प्रहार गरे ।

यस्तै भीम सार्की२३ रन बनाई आउट भए भने पवन शर्राफले १४ रन जोड्दा आशिफ शेखले १० रन बनाए । त्यस्तै सोमपाल कामी र कुशल मल्ल समान ९-९ रनमा अविजित रहे । क्यानडाका लागि हर्ष थाकर र ईश्वरजोत सोहीले समान २-२ विकेट लिँदा शाद विन जाफर र दिलप्रित बज्वाको भागमा समान १-१ विकेट रह्यो ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक सात रनकाे जित हासिल गरेको थियो । अब नेपाल र क्यानाडाबीच तेस्रो खेल आगामी सोमबार हुनेछ ।  नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।

सम्बन्धित समाचार