नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।
देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१३ हाटबजार चोकमा लु.२ ख १३४ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-१३ मालटोल बस्ने ३८ वर्षीय निरज गुरूङको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै उदयपुर, कटारी नगरपालिका-४ जहडी ककुर खोलास्थित सडकमा कटारीबाट चिम्टाघारीतर्फ जाँदै गरेको प्रदेश-२-०१-००१ ख ००७८ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सिन्धुली दुधौली नगरपालिका-१४ चिम्टाघारी बस्ने २१ वर्षीय ज्ञान बहादुर परियारको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै प्यूठान, माण्डवी गाउँपालिका-१ देविस्थान डाँडास्थित सडकमा रा.१ क ७७३ नम्बरको जेसीबीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय ठग बहादुर घर्तीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कपिलवस्तु, महाराजगंज नगरपालिका-११ बढेगाँउस्थित सडकमा हाल नम्बर नखुलेको अटो र ल.५६ प ४८९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महाराजगंज नगरपालिका-१ पिपरी बस्ने ३६ वर्षीय उदयराज रैदासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एक जनालाई सुमित्रा पोलिक्लिनिक महाराजगंजमा उपचारको लागि पठाइएको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा लु.७३ प ६५९८ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१३ बदेलपोखरी बस्ने ५४ वर्षीय राज कुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ स्थित सडकमा बा.४ ख ३५५९ नम्बरको टिपर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार सोही ठाउँ बस्ने २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकमा ना.५ ख ५०१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।