अनिल र भीमले बनाए कीर्तिमानी शतक : नेपालद्वारा क्यानडाविरुद्धको शृङ्खला ‘क्लिनस्विप’

नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेको छ । तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले सोमबार क्यानडालाई नौ विकेटले पराजित गरेसँगै शृङ्खला ३–० ले जितेको हो । अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेपछि नेपालले क्यानडामाथि सहज जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनाएको थियो । नेपालले दुई सय ३३ रनको विजयी लक्ष्य एक विकेटको क्षतिमा ४५ औँ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई सात रन तथा दोस्रो खेलमा चार विकेटले पराजित गरेको थियो ।



नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको क्रिकेट शृङ्खला क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा पपुवा न्यूगिनविरुद्ध दुई खेलको शृङ्खला २–० ले जितेको थियो । आजको खेलमा क्यानडाले प्रस्तुत गरेको दुई सय ३३ रनको लक्ष्य पच्छाउने क्रममा नेपालका लागि अनिल र भीमले एक सय ८९ रनको उत्कृष्ट साझेदारी गरे । अनिलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले एक सय २४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै भीमले एक सय एक रन बनाए । उनले एक सय २९ बलमा ११ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले १३ रन जोडे । बलिङतर्फ क्यानडाका शाहिद अहमदजैले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्धतमा ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद बीन जाफरले ३१, हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ तथा श्रीमान्थ विजेरत्नले २२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि आजको खेलमा डेब्यू गरेका हेमन्त धामीले तीन,  कुशल मल्लले दुई तथा ललितनारायण राजवंशी र अकाश चन्दले एक एक विकेट लिए ।

सम्बन्धित समाचार