नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा, कुवेत आठ विकेटले पराजित

कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो ।



ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो । नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् ।

यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३-१३ रन जोडे ।

कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई-दुई विकेट लिए ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । यो जितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

सम्बन्धित समाचार