नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललित निवास प्रकरणमा विशेष अदालतले दोषी ठहर गरेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालतले बिहीबार उनलाई दुई वर्ष कैद र ८० लाख जरिवानाको सजाय सजाय सुनाएको हो ।
विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो । त्यस्तै अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।
दीप बस्न्यात र छविराज पन्त दोषी ठहर
यसैगरी बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पनि दोषी ठहर भएका छन् ।
बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको फैसला गरेको हो । त्यस्तै पूर्वमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त र प्रेम बहादुर खापुङलगायतलाई ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय गरेको छ ।
यता पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रराज जोशीले भने सफाइ पाएका छन् ।