एसिसी महिला प्रिमियर कप : नेपाल मलेसियासँग चार विकेटले पराजित 

एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपालले एसिसी महिला एसिया कप खेल्ने अवसर गुमाएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन् भने डली भट्टले २५ रन जोडिन् । त्यस्तै  कविता कुँवरले २३ रन जोड्दा रुविना क्षेत्रीले २० रन बनाइन् ।



मलेसियाको लागि महिराह इजाती इस्मालीले दुई विकेट लिइन् भने विनिफ्रेड दुराई सिंघमको भागमा एक विकेट रह्यो । ११६ रनको लक्ष्य लिएर मैदान उत्रेको मलेसियाले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेलिन् भने मास एलिसाले १३, महिराह इजातीले १६ र वान जुलियाले ११ रन बनाए । नेपालका लागि सीता रानामगर र  कविता जोशीले समान २-२  विकेट लिए भने रुविना क्षेत्री र कविता कुँवरको भागमा समान १-१ विकेट रह्यो ।

सम्बन्धित समाचार