विश्वकप लिग-२  : नेपालको सानदार जित, नेदरल्यान्ड्स ९ विकेटले पराजित 

काठमाडौँमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो  ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो । नेदरल्यान्ड्सको लागि कप्तान स्टक एड्वार्डसले सर्वाधिक ३३ रन बनाए भने साइब्राण्ड एंगलब्रेक्टले २३ र बास डे लिडेले २७ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।



नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिँदा कप्तान रोहित पौडेल र सोमपाल कामीको भागमा समान १-१ विकेट रह्यो । नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भएका थिए । १३८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १५ दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेल्दै क्रमश: ५४ रन र साहले ५७ रन बनाए भने ओपनर कुशल भुर्तेलले २८ रन जोडे । नेदरल्यान्ड्सका लागि भिभिआन किङ्माले एक विकेट लिए ।

जितसंगै नेपालले दुई अंक जोडेको छ  । जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल बिहीबार नामिबियासँग चार विकेटले पराजित भएकाे थियो ।

सम्बन्धित समाचार