तनहुँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

तनहुँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार राति पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकछेउमा पल्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङ रहेका छन् । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।



दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् ।

घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।  जिप चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार