विश्वकप लिग–२ : शृङ्खलामा दोस्रो पटक भिड्दै नेपाल र नामिबिया

राजधानीमा जारी विश्वकप लिग–२ को पहिलो शृङ्खला अन्तर्गत तेस्रो खेलमा आज (बुधबार) नेपालले नामिबियाको सामना गर्दैछ । शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो पटक नामिबियासँग खेल्न लागेको हो ।

शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९: ३० बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई पराजित गर्दै श्रृंखलामा दोस्रो जित निकाल्ने उद्देश्यका साथ नेपाल मैदानमा उत्रिने छ भने नामिबिया पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा दोस्री जित निकाल्ने योजनामा रहेको छ ।



जारी श्रृंखला अन्तर्गत नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल २ खेलमा एक जित र एक हारसहित दुई अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा दुई अंक नै जोडेको नामिबिया र नेदरल्यान्ड्स क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

बिहीबारदेखि सुरु भएको खेलमा नेपालले घरेलु मैदानमा पहिलो श्रृंखलाअन्तर्गत बलिया दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग समान २-२ खेल खेल्दै छ । कुल ८ टोली सहभागी रहेको प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नेछ । हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।

सम्बन्धित समाचार