नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७ श्यामसाँघुस्थित सडकमा बा.१२ च ४९९१ नम्बरको बोलेरो सडकबाट करिब ७० मिटर तल खोल्सामा खसेर बुधबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीया दिल कुमारी प्रधान समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचारको लागि पठाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-१५ नहरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा चालक रौतहट गढिमाई नगरपालिका-९ बस्ने ५५ वर्षीय जय लाल सहनी सहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनमा घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई प्राथमिक अस्पताल गौर, २ जनालाई विरगंज निलकण्ठ अस्पताल र १ जनालाई गरूडा अनामिका अस्पताल तर्फ उपचारको लागि पठाएको छ । यस्तै मकवानपुर, गढी गाउँपालिका-४ ज्वालादेवीस्थित सडकमा ना.२ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ ३६ वर्षीय सुमन घिमिरेको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता अछाम, चौरपाटी गाउँपालिका-५ लुङ्रास्थित सडकमा से.१ ज ४२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार डोटी पुर्वीचौकी गाउँपालिका-४ बस्ने राजेन्द्र खड्काको १७ महिनाको छोरा इसान खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य १४ जनाको सोही अस्पताल र चालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यता दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रा चोकमा रा.५ प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पा त्रीबेणी गाउँपालिका-५ बस्ने २१ वर्षीय बिबेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय नेत्र भण्डारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-३ बेलाहानीस्थित सडकमा लु.३६ प ५४९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ मोहन डाँडा बस्ने २१ वर्षीय पदम बहादुर बयम्बुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । यता ललितपुर, ललितपुर महानगरपालिका-१५ धापाखेलस्थित सडकमा बा.९५ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका-१ गोदाम चौर बस्ने १८ वर्षीय सम्पुर्ण रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी मोरङ, बुढिगंगा गाउँपालिका-१ स्थित सडकमा प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका-१ बस्ने २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.६ ख ३३५२ नम्बरको ट्रक र बा.प्र.०१-०२६ च १३३४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बोलेरो चालक हाल नाम, थर, वतन नखुलेका पुरूष र भारत बिहार राज्य मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ३ जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।