विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौँमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमै सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा ५८ रनको अर्धशतकीय पारी खेले भने कुशल मल्ल ३८ रन बनाए ।



त्यस्तै भीम सार्कीले २६ रन जोड्दा कुशल भुर्तेल १८ र करण केसीले १२ रन बनाए । नामिबियाका लागि बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान ४-४ विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसको भागमा समान १-१विकेट रह्यो ।

१६९ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको नामिबियाले ४० ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नामिबियाको लागि कप्तान जेराल्ड एरास्मसले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले भने जेजे स्मिथ ३४ रनमा अविजित रहँदा माइकल भान लिंगेनले ३१ रन बनाए । यस्तै रुबेन ट्रम्पलम्यानले १६ रन बनाई आउट भए भने बर्नार्ड स्कोलज र निको डाभिनले समान ८-८ जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी र कुशल मल्लको भागमा समान १-१ विकेट रह्यो । जारी प्रतियोगितामा नेपालको नामिबियासँगको यो दोस्रो हार हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको थियो ।

यस जितसँगै नामिबिया ३ खेलमा ४ अङ्क जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलमा दुई अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ । अब नेपाली जारी सिरिजको अन्तिम खेल आगम्नी आइतबार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार