विश्वकप लिग–२ : शृङ्खलामा दोस्रो पटक भिड्दै नेपाल र नेदरल्यान्ड्स 

राजधानीमा जारी विश्वकप लिग–२ को पहिलो शृङ्खला अन्तर्गत चौथों तथा अन्तिम खेलमा आज (आइतबार) नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।

शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागिता रहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९: १५ बजे सुरु हुनेछ । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रृंखलामा दोस्रो जित निकाल्ने उद्देश्यका साथ नेपाल मैदानमा उत्रिने छ भने नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।



जारी श्रृंखला अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९  विकेटले पराजित गरेको थियो भने नामिबियाविरुद्धको दुवै खेलमा नेपाल क्रमश: ४ र २ विकेटले पराजित भएको थियो । यता नेपालसँग पहिलो खेलमा पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा नामिबियालाई ७ विकेटले र तेस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।

नेपाल ३ खेलमा एक जित र दुई हारसहित दुई अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा दुई अंक नै जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ । यता नामिबिया भने ४ खेलमा ३ जित र एक हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

नेपालले घरेलु मैदानमा पहिलो श्रृंखलाअन्तर्गत बलिया दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग समान २-२ खेल खेलेको हो । कुल ८ टोली सहभागी रहेको प्रतियोगितामा एक टिमले ३६ खेल खेल्नेछ । हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेको थियो ।

 

 

सम्बन्धित समाचार