विश्वकप लिग-२ : नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित 

काठमाडौँमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङखलाको चौथों तथा अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग पराजित भएको छ । जारी शृङखलामा नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेल खेलेको नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै १७२ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ९३ बलमा आठ चौकाको मद्दतमा ६६ रनको अर्धशतकीय पारी खेले भने करण केसीले २६ रन बनाए ।



त्यस्तै आरिफ शेख २२ रन बनाई आउट भए भने आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झाले पाँच रन जोडे । नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किङ्ग्माले समान ३-३ विकेट लिए भने बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेको भागमा एक विकेट रह्यो ।

१७३ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेदरल्यान्डसको लागि विक्रमजित सिंहले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले भने साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउँदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे । नेपालका लागि ललित नारायण राजवंशी र दीपेन्द्र सिह ऐरीले समान १-१ विकेट लिए ।

जितसँगै नेदरल्यान्ड्सले ४ खेलमा २ जित र २ हार सहित ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने समान खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहँदा समान खेलमा ६ अंक जोडेको नामिबिया पहिलो स्थानमा रहेको छ । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।

नेपाल नामिबियासँग पहिलो खेलमा चार विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।  त्यस्तै नामिबियाविरुद्धको दोस्रो खेलमा नेपाल दुई विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचार