त्रिकोणात्मक टी-२० सिरिज : नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै २०६ रन बनाएको थियो । नामिबियाका लागि जान निकोल लेफिट इटनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा १०१ रनको शतकीय पारी खेले  ।



उनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन्  । इटनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

त्यस्तै मलना क्रुगरले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले भने माइकल भान लिङ्गेनले २० रन जोड्दा जेपी कोट्जेले ११ रन जोडे । नेपालका लागि कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराको भागमा समान १-१ विकेट रह्यो ।

२०७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै १८६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ४२ रन जोडे ।

यस्तै कुशल मल्लले ३२ रन बनाई आउट भए भने सोमपाल कामीले २६ र गुलशन झाले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले चार विकेट लिए भने बर्नार्ड स्कोलज, निकोल लोपफटी इटन र जान फ्रिलिङकको भागमा समान २-२ विकेट रह्यो । अब नेपालले भोलि दोस्रो खेल नेदरल्यान्ड्स खेल्नेछ ।

सम्बन्धित समाचार