त्रिकोणात्मक टी-२० सिरिज  : नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी -२० शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले भने स्याब्रान्ड एंगेलब्रेक्टले ४९ रन बनाए ।



त्यस्तै स्कट एडवार्डसले ३३ रन जोड्दा तेजा निडामानिरुले ३१ रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले समान १-१ विकेट लिए । १८५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ।

नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।

चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे । नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो । उनी बोल्ड आउट हुन पुगे । दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौँ बलमा उनले १ रन मात्र लिए । अन्ततः नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो ।

खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि ५० रनको अर्धशतकीय पारी खेले भने आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोड्दा कुशल मल्ल र करण केसीले समान ११-११ रन बनाए ।

नेदरल्यान्ड्सको लागि स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान २-२ विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनको भागमा समान१-१ विकेट रह्यो । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

 

सम्बन्धित समाचार