‘भक्त गाथा’ : एउटा सङ्ग्रहनीय कृति

हालै सार्वजनिक भई बौद्धिक बजारमा प्रवेश पाएको नयाँ कृतिको नाम हो– ‘भक्त गाथा’ । शिवप्रसाद ढकाल लेखक तथा सम्पादक रहेको उक्त पुस्तकलाई श्रीमती मन ढकालले प्रकाशन गर्नुभएको हो । आयामका दृष्टिले पुस्तक केही मोटो देखिए पनि यसभित्र समेटिएका स्रष्टा र उनीहरूले समाजमा दिएको योगदानलाई सरसर्ती हेर्दा साँच्चै ज्ञान र चेतनाको नयाँ क्षितिज खुलेको अनुभव हुन्छ । नेपाललाई पृथक ढङ्गले चिनाउन सामथ्र्य राख्ने यस पुस्तकले बौद्धिक तथा जिज्ञासु पाठकको भने अपेक्षा राख्दछ ।

पुस्तकमा प्राडा ऋषिराम पोखरेलको शुभाशिष् मन्तव्य तथा प्राडा माघव भट्टराई र प्राडा राजेश गौत्तमको भूमिकाले पुस्तकको उपयोगिता र गहनतालाई देखाउँछ भने लेखकीय रूपमा रहेको ‘अक्षरका फूल – थुँगा र अर्चना’ले पुस्तक लेखनको लागि प्राप्त प्रेरणादेखि कृतिभित्र समेटिएका र चाहेर पनि समेट्न नसकिएका स्रष्टाहरूका बारेमा उल्लेख गरिएको पाइन्छ ।



लेखकको उत्तम प्रयत्नलाई साधुवाद दिने क्रममा भूमिकामा प्राडा माधव भट्टराई लेख्छन् ‘सनातन धर्मका प्रतिपादक ऋषि–महर्षिदेखि अनेक धर्म/सम्प्रदायका प्रवर्तक, व्याख्याता सिद्ध साधकदेखि लिएर नेपालको ऐतिहासिक परम्परामा योगदान गर्ने विशिष्ट व्यक्तित्वहरू र साहित्यकारहरू समेतको परिचय, विशेषता र योगदानको चर्चा गरिएको यो पुस्तक हरक्षेत्रका पाठकहरूका लागि उपयोगी छ ।’ यसै भनाइबाट पनि यस पुस्तकको महत्ता र उपयोगिता झल्कन्छ ।

लगभग इतिहासको गर्तमा विलाइसकेका झण्डै ३०० विशिष्ट स्रष्टाहरूका बारेमा शोध गरी सचित्र पुस्तकका रूपमा प्रकाशन गर्नु सामान्य साहसले सम्भव हुने कुरा होइन । लेखकको यस साहसलाई सम्मान गर्ने पर्दछ । नेपाललाई पृथक रूपमा चिनारी गराउने यो पुस्तक सबैका लागि सङ्ग्रहनीय छ ।

  • पुस्तकको नाम : भक्त गाथा (योगदानमा आधारित जीवनी सङ्ग्रह)
  • लेखक तथा सम्पादक : शिवप्रसाद ढकाल
  • प्रकाशक : श्रीमती मन ढकाल
  • पृष्ठसंख्या : ४+३६+८७६
  • मूल्य : १००१।–
  • प्रकाशित : २०८० माघ ।

सम्बन्धित समाचार