वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पराजित 

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सिमित भएको छ । बिहीबार राति भएको फाइनल खेलमा  नेपाल जोर्डनसँग टाइब्रेकरमा ५-३ ले पराजित भएको हो ।

साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।



त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनका लागि साराह अबु साबाहले गोल गर्दै टोलीलाई २-२ को अग्रता दिलाइन् । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

टाइब्रेकरमा जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे भने नेपालका लागि गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहारलाई जोर्डनकी गोलकिपर शरिन अल सलाबेले बचाइन् । जितसंगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ ।  नेपाल पहिलो सहभागितामै उपविजेता सिमित भयो ।

 

सम्बन्धित समाचार