राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ ठेगाना भएकी न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदिप कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।



उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरूद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो ।

उनीहरूलाई फैसला कार्यावन्यनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

सम्बन्धित समाचार