त्रिकोणात्मक टी-२० सिरिज : नेपालको रोमान्चक जित, नामिबिया तीन रनले पराजित 

काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलामा नेपालले पहिलो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा नामिबियालाई तीन रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै१८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले ३७ बलमा एक चौका र चार छक्काको मद्दतमा अविजित रहँदै ५५ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेखले ३१ रन बनाए ।



यी दुईले पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । त्यस्तै गुलशन झा २६ रन बनाई आउट भए भने अनिल शाहले २३ दीपेन्द्र सिंह ऐरीले १६ र कप्तान रोहित कुमार पौडेलले १० रन जोडे । नामिबियाका लागि बेन शिकाङ्गोलले ३ विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट लिंदा बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनको भागमा समान १-१ विकेट रह्यो ।

१८१ रनको लक्ष्य लिएर मैदान उत्रेको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन दिएपछि नेपालले रोमान्चक जित हात पारेको हो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन्को अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जान फ्रिलिङ्कले ३७ रन जोड्दा जेपी कोट्जेले २५ रन बनाए । यस्तै जेन ग्रिनले २३ रनमा अविजित रहँदा  माइकल भान लिङ्गेनले १० र रुबेन ट्रम्पलम्यानले १४ रन जोडे ।

नेपालका लागि करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई-दुई विकेट लिए भने अभिनाश बोहोराको भागमा एक विकेट रह्यो । जितसँगै नेपाल ३ खेलमा दुई अङ्क जोड्दै  अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान दुई अङ्क नै रहेको नामिबिया रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्डसको समान खेलमा चार अङक जोड्दै शीर्ष स्थानमा छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो भने नामिबिया बिहीबार भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ ।

 

सम्बन्धित समाचार