नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय अविशेक श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।