त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै  

राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । आज (मंगलबार) हुने फाइनल खेलमा दुवै टोली उपाधिको लागि भिड्न लागेका हुन् ।

किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ । वर्षाका कारण त्रिकोणात्मक टी-२० सिरिजको लिगचरणको नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल नतिजा विहीन भएसँगै प्रतियोगिताको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने भएका हुन् ।



अंक तालिकामा नेदरल्यान्ड्स पाँच अंकसहित शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो भने समान खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेको हो । उता नामिबिया भने समान खेलमा तीन अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ ।

अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने थिए । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । तर त्यसपछिको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनल पुग्न सफल भएको हो ।

नेपालले तेस्रो खेलमा भने नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दा चौथों तथा लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको थियो ।

सम्बन्धित समाचार