त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्यान्ड्सलाई, नेपाल ४ विकेटले पराजित  

काठमाडौँमा सम्पन्न त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रन बनाए भने गुलशन झाले ३४ रन बनाए । त्यस्तै कुशल मल्ल २६ रन बनाई आउट भए भने कप्तान रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे ।



नेदरल्यान्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान २-२ विकेट लिए । १८५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सको लागि माइकल लेभिटले ५४ रनको अर्धशतकीय पारी खेले भने साइब्राण्ड एङ्गलब्रेक्टले ४८ रन बनाए ।

यस्तै विक्रम जित सिंह २९ रन बनाई आउट भए भने टिम भान डेर गुग्टेन २१ रनमा अविजित रहँदा म्याक्स ओ डाउडले २२ रन जोडे । नेपालको लागि कुलश मल्लले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र अविनाष बोहराको भागमासमान १-१ विकेट रह्यो ।

अंक तालिकामा नेदरल्यान्ड्स पाँच अंकसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने समान खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेको हो । उता नामिबिया भने समान खेलमा तीन अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ ।

अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने थिए । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । तर त्यसपछिको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनल पुग्न सफल भएको हो ।

नेपालले तेस्रो खेलमा भने नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दा चौथों तथा लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको थियो ।

 

सम्बन्धित समाचार