नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवितै उद्धार गरिएको छ । आज (बुधबार) बिहान ५ बजे कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस अनियन्त्रित भै धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूली नदीमा खसेको हो ।
आज विहान बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नदीमा खसेकामध्ये ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।