नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ फागुन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, मेघाङ गाउँपालिका-६ मैबलस्थित सडकमा बा.४ ख ८६६० नम्बरको टिपरमा बा.९४ प ८४३० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६८ वर्षीय बिष्णु बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरी, कन्चनरुप नगरपालिका-१२ धर्मेश्वर अस्पताल अगाडि स.१ ख ८६३ नम्बरको टिपर र प्र.२-०१-०० प ९६३४ नम्बरको मोटटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय अशोक प्रसाद साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बर्दिया, मधुवन नगरपालिका-५ गाउँ नम्बर ८ स्थित सडकमा भे।१ ख १४८१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री मधुवन नगरपालिका-५ गाउँ नम्बर ७ बस्ने ४९ वर्षीय धर्म बहादुर थापाको बुधबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता बाँके, नेपालगंज उपमहानगरपालिका-१९ कण्ठिपुरस्थित सडकमा नेपालगंजबाट डुडुवातर्फ जाँदै गरेको भे.५ प २६२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ छक्रहवा बस्ने २३ वर्षीय विकाश नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंह चोकमा जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ लिवाली बस्ने ८५ वर्षीय विष्णुभक्त प्रजापतिको मृत्यु भएको छ । उक्त बसले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको ख्वप अस्पताल च्यामासिंह भक्तपुर हुँदै विएण्डवि अस्पतालमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।