नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक रोल्पा घर भएका २० वर्षीय दिनेश बुढामगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बर्दिया, ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित सडकमा बिबिएस बोर्डिङ स्कुल ठाकुरद्वारा बर्दियाको ना.४ ख ६२७१ नम्बरको बसको पछाडिको चक्काले कुल्चिँदा सोही नगरपालिका शिवपुर बस्ने सीता सुनारकी छोरी ५ वर्षीया सबिता सुनारको आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ती बालिका बसबाट झरी घरतर्फ जाने क्रममा पछाडिको चक्काले कुल्चिँदा गम्भीर घाइते भई उपचारको लागि मेडिकल कलेज कोलहपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै धनुषा, धनुषाधाम नगरपालिका-२ स्थित सडकमा धनुषाधामबाट जनकपुरतर्फ जाँदै गरेको ज.७ प १९८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सबैला नगरपालिका-१३ रघुनाथपुर बस्ने २२ वर्षीय श्याम राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित सडकमा ना.६४ प ७०४ नम्बरको मोटरसाइकललाई बा.प्र.०३-००१ च १९७५ नम्बरको बोलेरो गाडीले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बस्ने ३० वर्षीय सरोज पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता उदयपुर, त्रियुगा नगरपालिका-७ होक्सेस्थित सडकमा स.१ ख ८१६ नम्बरको बस र प्र.१-०१-०१६प ४६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक ईलाम सूर्यदय नगरपालिका-३ बस्ने २४ वर्षीय प्रगित राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०९५५ नम्बरको ट्रक र लु.५० प ४७०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कावासोती नगरपालिका-३ अठ्ठाईसबिघा बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका २० वर्षीय विश्व मित्र गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।