कुशलको उत्कृष्ट प्रदर्शनमा नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा

नेपाल हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० सिरिजको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको आफ्नो दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । उनले अर्धशतक बनाए भने चार विकेट पनि लिए ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ र सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६ रन्को अर्धशतकीय पारी खेले ।



त्यस्तै विनोद भण्डारी २७ रन बनाई आउट भए भने विवेक यादवले १९  र गुल्सन झाले अविजित १५ रनमा अविजित रहँदा लोकेश बमले १४ रन जोडे । कुशलले पहिलो विकेटका लागि विनोदसँग ६४ र चौथो विकेटका लागि सन्दीपसँग ५० रनको साझेदारी गरे ।

पिएनजीका लागि कप्तान असाद भालाले २ विकेट लिए भने नसैना पोकना, जोन कारिको र नोर्मन भानुआको भागमा समान एक-एक विकेट रह्यो । १९९ रनको लक्ष्य लिएर मैदान उत्रेको पिएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो ।  पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए भने सेसे बाउ २१ रन जोड्दा टोनी उराले १३ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।

नेपालको लागि कुशल भुर्तेलको ४ विकेट लिए भने प्रतिश जिसीले २ विकेट लिंदा आकाश चन्द र गुल्न झाको भागमा समान १-१ विकेट रह्यो । यसअघि नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए ।

सम्बन्धित समाचार